फेसबुकमा फेला पारेको उपयोगि लागेर साभार गरेँ कसैले उहाँको हो भनेर दाबि गरेमा उहाँको नामनै उल्लेख गरिने छ।

पुरुष नामका अन्त्य लेखिन्छन् इ, उ ह्रस्व नै ।
जस्तै- भाइ, पनाति वा भिनाजु, बाबु ह्रस्व नै ।।१।।

नपुसंक लिंगीको अन्त्य उकार ह्रस्व हुन्छ है ।
जस्तै- आलु, पिंडालु वा गाउँको उ त ह्रस्व है ।।२।।

धातुका अन्त्यमा आउ, नु, आइ प्रत्यय भए ।
नामबाट बनेका भै आइ, याइँ अन्त्यमा भए ।।३।।

भाववाचक हुन्छन् ती अन्त्यमा इ, उ ह्रस्व भै ।
गर्नु-गराइ, दुष्ट्याइँ, सघाउनु-सघाउ झैँ ।।४।।

नपुंसक लिंगी शब्दैको अन्त्य ई दीर्घ लेख है ।
खरानी, पानी वा फर्सी, गाग्रीमा दीर्घ देख है ।।५।।

स्त्रीलिंगी शब्दका अन्त्य ई वा ऊ दीर्घ भैगए ।
बहिनी, सम्धिनी, गाई सासू, भाउजू, झैँ भए ।।६।।

पेशा र जातको अन्त्यमा हुन्छ दीर्घ ई, ऊ नै ।
जस्तै- नेपाली, ज्यापू, भो गुभाजू, घती, नाऊ नै ।।७।।

अन्त्यमा आदरार्थीका ज्यू वा जी प्रत्यय भए ।
दीर्घ हुन्छन् पिताजी झैँ मंत्रीज्यू, दाज्यू नै भए ।।८।।

तद्वित शब्दका भाव, सम्बन्धी तद्भव पनि ।
अन्त्यमा दीर्घ इ हुन्छ गरीबी, बैगुनी, खुनी ।।९।।

सर्वनाम सधैँ दीर्घ इ वा ऊ जे भए पनि ।
तपाईँ, आफू, ती, यी, ऊ मेरी, तेरी र कोही नि ।।१०।।

सर्वनामसँगै अर्को जोडे प्रत्यय शब्दमा ।
त्यो-बाट त्यस्तरी फेरि हुन्छ लौ त्यही दीर्घमा ।।११।।

विशेषण् प्रकरण् हेरी हुन्छन् ह्रस्व र दीर्घ नै ।
गुलीयो-गुलियो, मीठो वा मिठो ह्रस्व दीर्घ नै ।।१२।।

सानू, सानु, ठूलु, ठूलू, दुवै शुद्ध प्रयोग हुन् ।
प्यारमा भनिने सानो ठूलोका न यी रूप हुन् ।।१३।।

संख्याबोधकमा देख्छौँ आदि-मध्यान्त दीर्घ ई ।
तीन, बीस र पच्चीस, साठी, सत्तरी झैँ भई ।।१४।।

अन्त्यमा ई हुने स्त्री वा दुवै लिंग बुझाउने ।
गोरी, नामी, धनी, राम्री, जातीमा सब दीर्घ नै ।।१५।।

दुवै लिंग बुझाउने उ हुन्छ जब अन्त्यमा ।
ह्रस्व हुन्छ घरेलु वा दुधालु र सिकारुमा ।।१६।।

‘गरेर बक्सियो’ भन्दा लेखिन्छ गरी बक्सियो
‘गर्‍यो’को आदरार्थीमा भैहाल्छ गरिबक्सियो ।।१७।।

लेखी देऊ भने केही ‘लेखेर केही देऊ’ हो ।
लेखिदेऊ भनेदेखि ‘लेख्‍ने काम गरिदिनु’ हो ।।१८।।

लगातार बुझाएमा ह्रस्व वा दीर्घ हुने ।
बोलीरहन्छ वा बोलिरहन्छ दुईमा कुनै ।।१९।।

विध्यर्थ शब्दका अन्त्य ई वा ऊ हुन्छ दीर्घ नै ।
लेख्‍नु, आऊ, बसूँ, निक्ली, देखून्, होऔली, सप्री नै ।।२०।।

स्त्रीलिंगीका क्रिया अन्त्य हुन्छन् सदैव दीर्घ है ।
आउली, गरिथी, जाली, दिएकी थिई दीर्घ झैँ ।।२१।।

अव्यय शब्दका अन्त्य इकार र उकार छन् ।
ह्रस्व हुन्छन् अगि, पर्सि, निंति, कि, बरु छिः त झन् ।।२२।।

अरी प्रत्यय लागेर बन्ने अव्यय दीर्घ हो ।
जस्तै ‘राम्रो गरी’ बाट राम्ररी दीर्घ भैगयो ।।२३।।

अरी प्रत्ययको अर्थ दिने अव्यय दीर्घ हो ।
झलझल गरी बनाएमा झलझली दीर्घ नै भयो ।।२४।।

अर्को भाषा जब हाम्रो भाषामा मिल्न आउँछ ।
उही भाषाअनुसार तत्सम शब्द छाउँछ ।।२५।।

शक्ति, रीति, कति विन्दु, वीर, बूट, हजूरमा ।
खुशी, बुद्धि, मुताबिक यस्तै हुन्छ हुकूममा ।।२६।।

व को ब हुन्छ चल्तीमा श, ष को पनि हुन्छ स ।
वास-बास, शीतल्-सीतल, पोष-पोस त बन्दछ ।।२७।।

विभक्ति जतिका चिन्ह जोडेर लेख्‍नुपर्दछ ।
कृष्णले रामका घरमा मलाई भेट्नुपर्दछ ।।२८।।

भन्दा, चाहिं, पछि, माथि, विना इत्यादि शब्दमा ।
जोडिन्छ पद ऊमाथि, रामचाहिं, सीताविना ।।२९।।

जानेछ यसरी लेखे ‘जाला’ भन्ने बुझिन्छ नि ।
जाने छ भन्नु हो ‘कोही जानेवाला’ छ नै भनी ।।३०।।

विभक्ति चिन्ह लागेका शब्दभन्दा पछि कुनै ।
भन्दा, चाहिं, पछि, माथि आए लेख्‍नु अलग्ग नै ।।३१।।

छुट्टयाई लेख्‍नुपर्ने हो नै, जस्तो, पनि, ता, भने ।
कृष्ण जस्तो, हरि मात्र, ऊ नै, यसरी लेखिने ।।३२।।