अतुल मिश्र/कान्तिपुर———–मुलुकमा केही दिनयता रुघा-खोकी लाग्ने, टाउको/घाँटी, जीउ दुख्ने, वान्ता वा वाकवाकीसँगै भाइरल ज्वरोको प्रकोप देखिएको छ ।

स्वास्थ्य मन्त्रालय, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार गत साउन १५ देखि देशको धेरै भागमा फाट्टफुट्ट र केही ठाउँमा सघन रूपमै प्रकोप देखिएको छ ।

हालसम्म स्याङ्जा, पर्वत, बागलुङ, गुल्मी, नवलपरासी, बाँके, कालिकोट लगायत जिल्लाका विभिन्न भागमा भाइरल ज्वरो देखिएको इपिडिमियोलोजीका महानिर्देशक डा. जीडी ठाकुरले बताए ।

‘अधिकांश भाइरल ज्वरो एक सातामा निको हुन्छ,’ वरिष्ठ फिजिसियन एवं कलेजो रोग विशेषज्ञ प्रा. अनिलकुमार मिश्रले भन्छन्, ‘भाइरसको प्रकृतिअनुसार प्राथमिक संक्रमणको अवधि केही दिनदेखि लिएर एक सातासम्म रहन सक्छ ।’

यहाँ भाइरल ज्वरोको पहिचान चिकित्सकहरूले क्लिनिकल परीक्षणबाट मात्र गर्ने गर्छन् । तर भाइरसको गम्भीरता थाहा पाउने सेरोलोजिकल परीक्षण भने गरिँदैन । भाइरल ज्वरोको उपचार लक्षणका आधारमा गरिने गरिएको मिश्रले बताए ।

धेरैजसो भाइरल संक्रमण सीधा सम्पर्क, दूषित हावापानी वा दूषित खाना उपयोग गर्नाले हुन्छ । घरेलु उपचारका लागि बिरामीले पर्याप्त मात्रामा तरल पदार्थ सेवन गर्नुका साथै पानीपट्टी लगाएर पनि ज्वरोलाई कम गर्न सकिन्छ । त्यस बाहेक पर्याप्त आराम पनि गर्नुपर्छ । भाइरल संक्रमणबाट बच्न स्वस्थकर खानपानका साथै संक्रमित व्यक्तिको सम्पर्कबाट टाढै रहनुपर्छ । अन्य माध्यम बाहेक भाइरल को संक्रमण मुख्यतः बिरामीले हाच्छिउँ गर्दा, खोक्दा वातावरणमा फैलिने पानीको ससाना थोपा (ड्रप्लेट) को माध्यमले सर्छ । त्यसैले पनि भाइरल संक्रमित बिरामी निको नभएसम्म कार्यालय वा स्कुल जस्ता धेरै मानिसको जमघट हुने क्षेत्रमा नजानु राम्रो हुन्छ । सामान्यतः निको हुन करिब पाँचदेखि सात दिन लाग्ने गरेको छ । अलि जटिलता देखिए तुरुन्त स्वास्थ्य निकायमा सम्पर्क गर्नुपर्छ ।

‘ज्वरोको उपचार लाक्षणिक हुन्छ, यसमा सामान्यतः एन्टिपाइरेटिक र एनाल्जेसिक औषधि दिने गरिएको छ,’ मिश्र भन्छन्, ‘पर्याप्त आराम गर्ने र प्रशस्त तरल पोषिलो पदार्थ सेवन गरे फाइदा मिल्छ ।’ नजिककालाई भाइरल सर्ने सम्भावना पाँच गुनासम्म बढी हुन्छ । साबुनपानीले हात धुनु यसबाट बच्ने राम्रो उपाय हो । यो संक्रमण आफैं निको हुने भए पनि ज्वरो एक सातासम्म निको नभए चिकित्सकसँग सल्लाह लिनैपर्छ ।

दुई महिनाभन्दा कम उमेरका शिशुहरूको काखीको तापक्रम ९९.८ डिग्री फरेन हाइटभन्दा बढी हुँदा, दुई महिनाभन्दा बढी उमेरका शिशु, बालबालिका एवं वयस्कको काखीको तापक्रम १००.५ डिग्री फरेन हाइटभन्दा बढी भएमा चिकित्सककहाँ पुग्नुपर्छ ।

के हो ज्वरो ?

शरीरमा कुनै भाइरस वा ब्याक्टेरियाले आक्रमण गर्दा जीउले आफंै त्यसलाई मार्ने प्रयास गर्छ । यही कारणले शरीरले आपmनो तापक्रम समेत बढाउँछ । शरीरको तापक्रम सामान्यभन्दा बढ्ने यही प्रक्रियालाई हामी ज्वरो आएको भन्छौं । शरीरको तापक्रम ९८.३ डिग्री फरेन हाइटभन्दा बढी हुँदा ज्वरो आएको मानिन्छ । ज्वरो आफंैमा रोग होइन, रोगको लक्षण मात्र हो । प्रा. मिश्रका अनुसार कुनै पनि प्रकारको संक्रमणको बेला शरीरद्वारा दिइने प्रतिक्रिया नै ज्वरो हो र वृद्घ िभइरहेको ज्वरोको तापमानले रोगले बिरामीलाई च्याप्दै लागेको संकेत गर्छ ।

कुनै पनि भाइरसको संक्रमणले गर्दा हुने ज्वरो भाइरल ज्वरो हो । भाइरसको संक्रमणबाट हुने ज्वरो कति डिग्रीसम्म आउँछ भन्ने ठोकुवा गर्न सकिन्न ।

ज्वरोमा के हुन्छ ?

ज्वरो विषाणुको संक्रमणले हुन्छ । यस्ता विषाणुले शरीरको कोषिकामा पाइरोजेन नामको विषाक्त पदार्थ उत्पन्न गर्छन् । ‘यसले मस्तिष्कमा हुने ताप नियन्त्रण केन्द्र (हाइपोथेलमस) मा खराबी आउँछ र ज्वरोको अनुभव हुन्छ,’ मिश्र भन्छन्, ‘ज्वरोले रोगको कीटाणु समाप्त गर्न हामीलाई सहयोग गरिरहेको हुन्छ ।’ यो समय शरीरमा विभिन्न प्रकारका जैविक प्रक्रिया तीव्र गतिले हुने गर्छन् । र, कीटाणु समाप्त गर्न हामीलाई सघाउँछन् । तर लामो समयसम्म ज्वरो नघट्नु शरीरका लागि घातक हुन्छ । किनभने यो समय शरीरको भित्री खण्डको तापक्रम बढेर पानीको कमी हुन जान्छ । यसले गर्दा रगत र मूत्रनलीको कोषिका सुक्न थाल्छ र त्यसमा प्रोटिनको मात्रा कम हुन थाल्छ ।

के गर्ने ?

बिरामीलाई स्वच्छ हावाको सञ्चार हुने कोठामा राख्नुपर्छ । तर धेरै चिसो वातावरणमा भने राख्नुहुन्न ।

बिरामीलाई प्रशस्त मात्रामा झोल तथा तरल पदार्थ खान दिनुपर्छ । यस्तै, शरीरलाई पर्याप्त मात्रामा क्यालोरी दिन ग्लुकोज, आरोग्यवर्धक पेयपदार्थ, फलफूलको रस आदि खुवाउनुपर्छ । सजिलै पच्ने खाद्यवस्तु (जस्तैः जाउलो, साउदाना, दूध, रोटी, ब्रेड आदि) खान दिनुपर्छ । पाचन प्रक्रिया जटिल हुने खालका भोजन भने नदिनु बेस हुन्छ ।

ज्वरो आउनासाथ बिरामीलाई छोपेर राख्ने चलनलाई औंल्याउँदै मिश्र बरु रोगीको शरीरबाट अनावश्यक लुगा हटाउन सल्लाह दिन्छन् । यस्तो अवस्थामा पातला सुतीका लुगा लगाउनु राम्रो मानिन्छ । आवश्यक भए वा बिरामीले रुचाए कम्बल ओढाउन सकिन्छ । तर रोगीलाई कम्बल वा न्यानो लुगाले बेर्नु भने हुँदैन ।

चिकित्सकको सल्लाहबिना एन्टिबायोटिक नखाने भाइरल ज्वरोले प्रभावित अधिकांशले औषधि पसलेले दिने एन्टिबायोटिक औषधि प्रयोग गर्ने गरेको देखिन्छ । धेरैजसो भाइरल ज्वरो पीडितहरू एक/दुई दिनको उच्च ज्वरोपछि आत्तिएर औषधि पसल पुग्छन् र एन्टिबायोटिक औषधि सेवन गर्छन् ।

भाइरल ज्वरोमा चिकित्सकको सल्लाहमा मात्र औषधि सेवन गर्नुपर्ने उल्लेख गर्दै डा. मिश्र आफंै वा पसललेको सल्लाहमा एन्टिबायोटिक औषधि सेवन नगर्ने सल्लाह दिन्छन् ।

पाँच दिनसम्म भाइरल ज्वरो आए पनि एन्टिबायोटिकको सेवन गर्नु नहुने औंल्याउँदै उनी उच्च ज्वरो आए सबैभन्दा पहिले चिकित्सककहाँ पुग्नुपर्ने सुझाउँछन् । पसलेले दिने गरेको एन्टिबायोटिकले गर्दा आमव्यक्तिमा यसप्रतिको प्रतिरोधक क्षमतामा वृद्घि भइरहेको अवस्था समेत उनी औंल्याउँछन् ।

कति बेला एन्टिबायोटिक ?

भाइरल ज्वरोको सुरुमै एन्टिबायोटिक औषधिको आवश्यकता पर्दैन । तर रोगीलाई यसपछि पुनः संक्रमण (सेकेन्डरी इन्फेक्सन) देखिए वा खकारमा पहेंलोपन देखिए एन्टिबायोटिकको आवश्यकता पर्छ । यस्तो अवस्थामा सिफारिस मात्रामा खान सकिन्छ ।

तत्काल चिकित्सककहाँ जाने—

सास फेर्न असजिलो भए

बच्चाले खाना नखाए वा स्तनपान नगरे

शरीरमा ठूला बिमिरा देखिए

घाँटीमा खसखस गरिरहे

वान्ता नरोकिए

रगत/म्युकससँगै झाडापखाला चले

पिसाब फेर्न अति पीडा भए वा तल्लो पेट वा कम्मरको एकापट्टि दुखिरहे

बेहोस भए